गोरखाको लापुबेंसीबाट काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट अस्ति शुक्रवार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहिन भएको हो । दरौदी यातायात प्रा.लीका नारायण खत्रीले खोजीका लागि अनुरोध गर्नुभएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।