काठमाडौँ । काठमाडौँ उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएका छन् । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले आज बिहानैदेखि सडक खण्ड बन्द रहेको छ । काठमाडौँ–मुग्लिन–नारायणगढ खण्डमा भोलीसम्म सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने बिपी राजमार्ग समेत अवरुद्ध भएको छ । यस्तै हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् । बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ आउने कान्ति लोक पथ, राजधानी मार्ग (भीम फेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।
यस्तै अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ । सबैभन्दा बढी असर बिपी राजमार्गमा देखिएको छ ।