नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा भोलीसम्मका लागि सवारी आवागमनमा रोक

मुख्य खबर NFM संवाददाता शनिबार अशोज १२, २०८१
काठमाडौँ । नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा भोलीसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम अझै रहेको भन्दै सवारी साधान आवागमनमा रोक लगाएको हो । प्रशासकिय अधिकृत अन्तिम सिंजालीले आज एक  सूचना जारी गर्दै उक्त सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिनुभएको छ  । नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । पहिरोको जोखिम भएपछि यस सडकखण्डमा हिजो साँझ ७ बजेदेखि आज  बिहान ५ बजेसम्म पनि सवारी आवगमनमा रोक लगाइएको थियो । तर आज बिहान ठाउँ–ठाउँमा पहिरो जाँदा सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । पानी नरोकिएपछि सम्भावित क्षतीलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले दिउँसो देखिनै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको हो । आज बिहान मुग्लिन नागढुङगा सडक खण्डको मौवाखोला, घोप्टेभिर, नौँ किलोलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । हिजोदेखि रोकिएका सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।  राजधानी भित्रीने र बाहिरीने सयौं सवारी साधन नारायणगढको आपटार क्षेत्रमा रोकिएका छन् । भारी वर्षाको जोखिमले हिजो साँझदेखि मुग्लिनको बाटो यातायात सञ्चालनमा रोक लगाएपछि सवारी साधन नारायणगढमा रोकिएका हुन् । मुग्लिन नारायणगढको आधा दर्जन स्थानमा पहिरो गएको छ भने केही स्थानमा सडक भासिएको छ । आपटारी, भरातपुरको वाइसपास सडक, भरतपुर वसपार्क लगायतका स्थानमा सवारी साधन रोकिएका छन् । अझै एक दिन सवारी सञ्चालन हुन नसक्ने भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

Leave a Comment