प्राकृतिक विपद्मा परेकाहरूको उद्धारमा देशभर २० हजार सुरक्षाकर्मी परिचालन

मुख्य खबर NFM संवाददाता शनिबार अशोज १२, २०८१

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका मानिसहरूको खोज तथा उद्धारका लागि देशभर २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन गरिएको हो । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५ सय ४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीका चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।
त्यसै गरी नेपाली सेनाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चार मानीसकोे हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । राष्ट्रिय अनुसन्धान विभाग भने सूचना सङ्कलनमा सक्रिय छ ।
आज दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागेको बताउनुभएको थियो । उहाँले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।

Leave a Comment