लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित

मुख्य खबर NFM संवाददाता शनिबार अशोज १२, २०८१

लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा पहिरो गएका छन् भने, किसानको धानबाली खेतमै ढलेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा बाढीपहिरोका कारण हिजोदेखि गाडी चल्न सकेका छैनन । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा नजिकै पहिरो खस्दा हिजोदेखि नै सडक अवरुद्ध भएको छ । सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । बर्दीबास–सिन्धुली–खुर्कोट–धुलिखेल जोड्ने बीपी राजमार्गको काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा सडक अवरुद्ध भएको छ । बनेपामा पनि बाढीले सडक अवरुद्ध भएको छ । काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाण्डौ जोड्ने सडकका विभिन्न ठाउँमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ । सरकारले हिजो र आज रात्रिबस नचलाउन आग्रह गरेपछि काठमाण्डौ प्रशासनले हिजो थानकोट हुँदै बाहिरिने गाडी कलङ्की, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ । हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेपछि सडक खुलाउने भनिए पनि नौकिलो भन्ने ठाउँमा सडक भासिएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

Leave a Comment