नदीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका– १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो। यसैगरी, गौरीगञ्ज गाउँपालिका– ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन्। शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज– २ भाकुरमारी सुकुमवासी बस्ती बस्ने ५० वर्षीय केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोलामा आएको बाढीले खोजीमा समस्या भएको छ। नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए। त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ।