आज दिनभर लगातार झरी पर्ने सम्भावना

मुख्य खबर NFM संवाददाता शुक्रबार अशोज ११, २०८१

आज लगातार झरी पर्ने भएको छ । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ । मौसमविद गोविन्द झाले भने,आज लगातार झरी पर्ने सम्भावना छ र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने मौसमविद रोजन लामिछानेले बताउनुभयो ।

आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना रहेको उनले बताए । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अझै ४८ घण्टा लगातार झरी पर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार आज मध्य पहाडी क्षेत्रमा भारी वर्षाको धेरै सम्भावना छ । गत मंगलबारदेखि सुरु भएको वर्षा देशभर फैलिँदै गएको छ । दुई दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाबाट ५६ जिल्लालाई उच्च जोखिममा पर्ने आँकलन सार्वजनिक गरेको थियो ।

यसैबीच सरकारले आज र भोलि पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको छ । रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ । यस्तै धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँ तलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

Leave a Comment