नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ

मुख्य खबर NFM संवाददाता शुक्रबार अशोज ११, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । स्थानीय समय अनुसार हिजो साँझ साढे ५ बजे महासभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भाबी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभयो । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभएको हो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा हिजो बिहान अध्यक्ष याङसँग भेट गरेका हुन्। भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

Leave a Comment