दसैं अगाडी नै देशभरका सडकमा खाल्टाखुल्टी पुरी सक्ने भौतिकमन्त्री दाहालको दावी

मुख्य खबर NFM संवाददाता बिहिबार अशोज १०, २०८१

काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैं अगाडी नै देशभरका सबै सडकमा खाल्टाखुल्टी पुरी सक्ने दावी गर्नुभएको छ । सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकमा एक साताभित्रै खाल्टाखुल्टी पुरी सक्ने उहाँले दावी गर्नुभएको हो । आज धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले देशैभर करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी दिनुभयो । चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति हुन नदिन दसैं अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको मन्त्री दाहालको भनाइ छ । मन्त्री दाहालले मधेश समृद्ध नहुञ्जेसम्म मुलुक समृद्ध हुन नसक्ने धारणा राख्नुभयो । हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको पनि उहाँले बताउनुभयो । रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समास्या देखिएको उल्लेख गर्दै उहाँले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समास्या समाधानका उपाय खोजिने बताउनुभयो । त्यहाँ भौतिक पूर्वाधारका क्षेत्रमा भएका तथा हुन लागेका कामहरु के कस्तो भइरहेको छ भनेर अध्ययनका लागि मधेश भ्रमणको सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Comment