देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाइरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ। आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ। खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ । जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन्। यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।
यसैविच राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने बताउनुभएको छ । जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताउनुभएको छ । जितिया पर्वका अवसरमा उनले सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभयो ।