राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहितका सांसद तथा नेता आज फर्कंदैछन् । पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी हिजो पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको थियो । त्यहीअनुसार चीन भ्रमणमा रहेका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ फर्कन लागेका हुन् । चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन् । भ्रमण तालिका १० दिनको थियो । यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो । सहकारी बचत अपचलन, दुरुपयोग, ठगी सम्बन्धनमा छानबिन गर्न गठित संसदीय समितिले रास्वपा सभापति रवि लामिछानलेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।