ओली र भुटानी प्रधानमन्त्रीबीच छलफल

मुख्य खबर NFM संवाददाता सोमवार अशोज ७, २०८१

 

काठमाडौं ः नेपाल र भुटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री  केपी शर्मा ओली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच सोमबार बिहान भेटवार्ता भएको हो । दुई प्रधानमन्त्रीबीचको भेट राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भएको हो ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भयो।

छलफलका क्रममा भुटानी प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताउनु भयो । उँहाले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनु भयो ।

Leave a Comment