मन्त्री अधिकारी द्वारा मह किसानको समस्या अध्ययन गर्न समिति गठन

मुख्य खबर NFM संवाददाता आइतवार अशोज ६, २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानको समस्या अध्ययन गर्न समिति  गठन गर्नुभएको छ।

आज मन्त्रालयमा सरोकारवालाको सहभागितामा बसेको  बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षलाई सहभागी गराएर ९ सदस्यीय समिति गठन गर्नुभएको हो ।  समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।

बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक  दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने बताउनुभयो । उहाँले  सरकारको लक्ष्य आयात प्रतिस्थापन गरेर स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानका तत्काल देखिएका समस्या समाधान गर्न जरुरी रहेको जानकारी गराउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताउनुभयो।

मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छन्। मह आयत रोके पनि सिरफको रुपमा यसको आयात भइरहेको भन्दै मह किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने  लगायतका माग राखेका छन् ।

Leave a Comment