सुदूरपश्चिम सरकारको चालु आर्थिक वर्षको बजेट बहुमतले पारित

मुख्य खबर NFM संवाददाता आइतवार अशोज ६, २०८१

काठमाण्डौँ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷२०८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत सोमबार ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट सदनमा प्रस्तुत गर्नुभएको थियो । हिजो र आज दुई दिन प्रदेश सभामा बजेटमाथि छलफल गरेर बहुमतले पारित गरिएको छ ।
यसअघि, बजेटमाथि छलफलमा भाग लिँदै सत्ता र प्रतिपक्षका प्रदेशसभा सदस्यले बजेटको आलोचना गरेका थिए । सदनमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री थापाले बिचौलियाको लेनदेन हटाउने सरकारले प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक अराजकता रोक्न र सुशासन कायम गर्न प्रदेश सरकारले चार बुँदे अवधारणा घोषणा गरेको बताउनुभयो ।

मन्त्री थापाले बिचौलियाको योजना परेका प्रमाणसहित आएमा त्यस्ता योजना कार्यान्वयन नगर्ने र बिचौलियालाई कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो । नयाँ सरकारको केही प्राथमिकतालाई समावेश गर्दै पुरानै बजेटलाई परिमार्जन गरेर बजेट ल्याएको उहाँले बताउनुभयो ।

Leave a Comment