सरकारले काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ। काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ। सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो
र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ। कम्पनीले मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याउने जानकारी दिएको छ । सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे। मन्त्री भण्डारीले देशभरका ७४ स्थानहरुमा सहुलियत पसल सञ्चालन गरिएको बताए। उनले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैयाँ सुपथ मूल्य पसल सञ्चालन गरिएको पनि बताउनुभयो । सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरु अभाव हुन नदिने गरी पसलहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ ।