आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

मुख्य खबर NFM संवाददाता बिहिबार अशोज ३, २०८१

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल सरकारद्वारा  बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बिहीबार साँझ नै राष्ट्रपति पौडेलले शीतलनिवासमा स्वागत समारोह आयोजना गर्नेछन् । संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघसंस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि  विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछ । नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । ३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ । सरकारले संविधान जारी भएको दिनमा प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएको छ । संविधान दिवसकै खुशियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति हुनेछ। सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वान गरेको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा  शुभकामना सन्देश जारी गरी उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिविम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Comment