आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो । संघीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् दिवस विशेष कार्यक्रमहरू गर्दैछ । समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन समेत गरेको छ । शिक्षा मन्त्रालयले आज दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण ’क’, ’ख’ र ’ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ’क’ र ’ख’ एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ । यी पुरस्कारका लागि आवेदन माग गरिएको र उनीहरूमध्येबाट पुरस्कृत हुनेहरूको नाम समेत छनोट भइसकेको मन्त्रालयले जनाएको छ । उनीहरूको नाम बुधबार मन्त्रालयले वेभसाइटमा सार्वजनिक गर्दै पुरस्कार घोषणा गर्ने जनाएको छ ।
यसैसबिच प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताउनुभएको छ । ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ।