काठमाडौं । संघीय संसद्को चालु अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य हुने भएको छ । अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा सुरु भएको थियो ।
सरकारका एक मन्त्रीका अनुसार माओवादीले संसद्को अवरोध जारी राखेको, असोज १ र ३ मा सरकारी बिदा परेको र ४ गते आफू संयुक्त राष्ट्रसंघको महासभाका लागि जानुपर्ने कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिकामा सिफारिस पठाउने समय ख्याल गरेर संसद् अधिवेशन अन्त्य गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकमा गराउनु भएको थियो । प्रधानमन्त्री ओलीले भदौ १५ मै संसद् अधिवेशन अन्त्य गर्न खोज्नु भएको थियो तर सहकारीको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै अन्त्य गर्नुपर्ने माग कांग्रेस नेताहरूले गरेपछि ओली केही दिन संसद् लम्ब्याउन सहमत हुनु भएको हो ।