झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको छ । अर्जुनधारा नगरपालिकामा गएराति र शिवसताक्षीमा हिजो राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा गएराति इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या भएको छ । लाहोर हत्याको आरोपमा कैलालीको गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । लोहारलाई पटक(पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, शिवसताक्षी नगरपालिका–८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ । दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर दाइले भाइ रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ ।