धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय

मुख्य खबर NFM संवाददाता शुक्रबार भदौ २८, २०८१

धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन भने तीन वर्षअघि नै भइसकेको हो ।

Leave a Comment