५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै, १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

मुख्य खबर NFM संवाददाता आइतवार भदौ २३, २०८१

आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । यस वर्ष ’बहुभाषिक शिक्षाको प्रवर्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ । सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । सरकारले २०६५ सालमा अभियानको शुरुवात गरेको थियो । त्यसयता हरेक वर्ष अभियान सञ्चालन हुँदै आएको छ । डेढ दशकमा झन्डै १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार नेपालमा अहिलेसम्म ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन् । अब १३ वटा जिल्ला घोषणा हुन बाँकी छन् । ती जिल्लासमेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

 

Leave a Comment