२१ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गएको तीन वर्षदेखि निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । दिवसको अवसरमा कर्मचारीलाई पुरस्कृत गर्ने गरिएकोमा यसअघिका ७ वर्षमा जस्तै यसवर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा त्योभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ । यस्तै नियमित रुपमा सम्पत्ति विवरण पेस गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेकोसहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानूनबमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ । यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कोही पनि कर्मचरीको नाम सिफारिस नभएको छनोट समितिले जनाएको छ । सर्वोत्कृष्ट कर्मचारी नभेटिए पनि सरकारले यस वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गर्दैछ ।
सरकारले निजामती सेवा दिवस मनाइरहँदा सरकारी सेवाप्रति आमनागरिकको गुनासो भने उस्तै छ । सरकारी सेवा बढी प्रक्रियामुखी हुँदा सेवा लिन नै कठिन हुने गरेको सेवाग्राहीको गुनासो छ । पछिल्लोपटक सरकारी सेवामा प्रविधिको प्रयोग बढे पनि पूर्ण रुपमा लागू हुन सकेको छैन ।