काठमाडौँ । सरकारले बाली बिमालाई विशेष प्राथमिकता दिएर व्यवस्थित गर्ने भएको छ । बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको सरकारले बाली बिमाका प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्य अघि बढाउने भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ
अधिकारीले प्रदेश सरकारका कृषि मन्त्रीसँग यसबारेमा छलफलसमेत गर्नुभएको छ । मन्त्री अधिकारीले अनुदानको विषयमा मन्त्रालयमाथि आरोप लाग्दै आएकोले अब पालिका र प्रदेश सरकारसँग समन्वय गरी एउटा संयन्त्र बनाएर त्यसमार्फत अनुदानको व्यवस्थापन गर्ने उद्देश्य रहेको जानकारी गराउनुभयो । लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषि मन्त्रालयले किसान सूचीकरणको काम यसै वर्षभित्र सक्ने गरी काम अगाडि बढाएको मन्त्री अधिकारीको भनाइ छ । यस वर्षभित्रै सूचीकरण र वर्गीकरणसहित वितरणको प्रक्रिया पनि सुरु गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषि मन्त्री र ७ सय ५३ वटै पालिकालाई आग्रह समेत गर्नुभएको छ ।
देशभर बाली वस्तुमा बाँदरले दुःख दिने गरेकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता छ । निर्देशिका संशोधन गर्न नसके रासायनिक मलको अभाव र आलोचना भइरहने भएकाले यसको समाधान गर्ने गरी काम गर्ने मन्त्री अधिकारीले बताउनुभयो ।