काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । काठमाडौँमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५ औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताउनु भयो ।
मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताउनु भएको छ । उँहाले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएका बताउनु भएको छ । गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जुरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भीकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो ।
सो अवसरमा मन्त्री भण्डारीले ‘सुदूरकि सोराई गोःरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा.हरिदत्त पाण्डेयले जानकारी दिनु भयो ।