सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने छ । प्रवक्ता डा. बुढाथोकीले त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने बताउनुभयो । उहाँका अनुसार जलन उपचारको प्रयोजनका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेन्डरी तहमा छुट्याइने छ । प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिने छ । जलन भएका सामान्य सर्जरी गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिने छ भने धेरै जलन भएको अवस्थामा जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गर्ने छन् । ७७ वटै जिल्लामा प्राथमिक तह निर्धारण गरेर जलनका बिरामीको उपचार हुने छ । स्वास्थ्य मन्त्रालयका अनुसार जलन उपचारमा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पताललाई सेकेन्डरी अस्पतालका रूपमा राखिएको छ । जिल्लामा उपचार हुन नसक्ने बिरामी प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर हुँदा पनि बिरामीको सम्पूर्ण उपचार निःशुल्क हुने छ । प्रवक्ता डा. बुढाथोकीले दोस्रो तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा कीर्तिपुर अस्पतालमा रिफर गर्ने गरी कार्यविधि बनाइएको बताउनुभयो । कीर्तिपुर अस्पतालमा भने सक्नेलाई केही प्रतिशत तिराएर र नसक्नेका लागि भने सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था मिलाइने छ । निजी अस्पतालमा उपचारका लागि गएको हकमा भने जलनको निःशुल्क उपचार हुने छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक ७६ हजार जना जलनका बिरामी थपिने गरेका छन ।
वीरमा अत्याधुनिक कक्ष सञ्चालन हुँदै
वीर अस्पतालमा जलन उपचार कक्षको तयारी पूरा भएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जलन उपचारका लागि आवश्यक पूर्वाधार तथा सामग्री खरिद गरिसकेको जानकारी दिनुभयो । उहाँले पूर्ण क्षमतामा जाँदा पाँच शय्या आइसियु र १० शय्या वार्ड सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । निर्देशक डा. पौडेलका अनुसार तत्काल तीन वटा आइसियु र सात वटा शय्या गरी १० शय्याबाट मात्र सेवा सञ्चालन हुने छ । उहाँले पछि क्षमता बढेपछि पूर्ण क्षमतामा जलनको उपचार सञ्चालन गरिने बताउनुभयो । जलन उपचारका लागि थप चिकित्सक र नर्सको आवश्यकता पर्छ तर वीरमा नर्सको अभाव रहेको बताइएको छ । डा. पौडेलले तत्काल मन्त्रालयले ३५ जना नर्स पठाउने हो भने जलन उपचार कक्ष सञ्चालन गर्न कठिन नहुने बताउनुभयो ।
डा. पौडेलले भन्नुभयो, “सुरुको अवस्थामा जलनको उपचार गर्न कम्तीमा ३५ जना नर्स आवश्यक पर्छ ।” उहाँले मन्त्रालयसँग स्वीकृत दरबन्दीभित्रको नर्सिङ जनशक्ति मात्र माग गरेको जानकारी दिनुभयो । यसबाहेक प्लास्टिक सर्जरीसम्बन्धी डाक्टर थप दुई जना चाहिन्छ । वीरमा हाल जलनसम्बन्धी डाक्टर चार जना छन् । gorkhapatra