बर्खायाम लागेसँगै डेंगु र हैजा रोगको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको संक्रमण देखिएको बताउनुभयो । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेंगु रोगको संक्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगु संक्रमण देखिएको छ ।
यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको जानकारी दिनुयभो । उहाँका अनुसार ललितपुरमा ४७, काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ ।