काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका घाइतेसँग भेट गर्नुभएको छ । काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका घाइतेहरूसँग उहाँहरूले भेट गर्नुभएको हो ।
बस दुर्घटनामा परी घाइते व्यक्तिलाई भेट्न आजै नेपाल आउनुभएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमै बिरामीको अवस्था बुझ्ने क्रममा भेट पनि गर्नुभएको छ । हिजो भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
भेटमा गृहमन्त्री लेखकले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडोभन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताउनुभएको थियो । साथै राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिनुभएको छ ।
बिरामीहरूको उपचार राम्रोसँग भइरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । उहाँले त्यहीँ क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरूको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको बताउनुभयो ।
हिजो बिहान करिब साढे ११ बजे सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खसेको थियो ।