भारतीय क्रिकेटर शिखर धवनले गरे सन्यासको घोषणा

खेलकूद NFM संवाददाता शनिबार भदौ ८, २०८१

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ ।  धवनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा भारतका लागि लामो समय खेलेको भन्दै खुशीका साथ छोड्न लागेको उल्लेख गर्नुभएको छ ।
धवनले अन्तिम पटक सन् २०२२ मा भारतको लागि एक दिवसीय खेल खेल्नुभएको थियो ।  शुभमन गिल र अरू युवा खेलाडीले राम्रो प्रदर्शन गर्न थालेपछि धवन टिममा पर्न छोड्नु भएको थियो । उहाँले ३४ वटा टेस्ट, एक सय ६७  वटा एक दिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसक्नु भएको छ ।
एक दिवसीयमा ६ हजार सात सय ९३ रन र टेस्ट प्रतियोगिताको ५८ पारिमा दुई हजार तीन सय १५ रन बनाउनुभएका उहाँले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान समेत राख्नु भएको छ । उहाँले मोहालीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दै ८५ बलमा शतक बनाउनुभएको थियो । एक दिवसीय क्रिकेटमा पाँच हजार भन्दा बढी रन बनाउने आठ जना ब्याटर मध्ये उहाँ एक हुनुहुन्छ ।

Leave a Comment