मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते

मुख्य खबर NFM संवाददाता शुक्रबार भदौ ७, २०८१

मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा आज दिउँसो १ः५० बजे ढुङ्गा लागेको थियो । ढुङ्गा लागेलगतै अनियन्त्रित भएर बस सडकमा पल्टिँदा बसमा सवार १९ जना यात्रु घाइते भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । ढुङ्गा लागेपछि अत्तिएर बस चलाउँदा बस सडकमा नै पल्टिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । सडकमा बस पल्टिएपछि बाटो अवरुद्ध भएको थियो । बसलाई पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पहिचान खुल्न बाँकी छ । तीन दिन यता हरेक दिन ढुङ्गा लागेर सवारी साधानमा क्षति भएको छ भने यात्रुहरु घाइते भएका छन् । निजी सवारी साधन कार, बुधबार माइक्रो बस र आज  यात्रु बसमा ढुङ्गा लागेको छ ।

Leave a Comment