साउन महिनाको गठे मंगलदेखि सुरू हुने लाखे नाच हेर्न आजभोलि उपत्यकामा पर्यटकहरूको भिड नै लाग्ने गर्दछ । हातमा भिडिओ क्यामेरा बोक्दै लाखे नाचको वरपर फोटो खिच्ने र भिडिओ क्यामेरामा लाखे नाचलाई कैद गर्न पर्यटकहरू रमाउँछन् । नेपालमा भित्रिने धेरै वाह्य पर्यटकहरू संस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने पनि गर्दछन् । नेपालमा भएका १२५ जातिहरूको आ–आफ्नै संस्कृति र संस्कार, परम्परा, रितिरिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदिमा विशेषता रहेको छ ।
नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन । यसरी नाचिने नाचहरूमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुरलगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ ।
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरू गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झदै बन्दुक पडकाएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।
नेवारी संस्कृति, चाडवाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रूपमा रहेको लाखे नाचको आकर्षणले गर्दा लाखे नाच नाचिने समयमा नेपाल आउने विदेशी पर्यटकहरूले पनि रमाइलो मानी हेर्छन् । कतिपय पर्यटकहरू लाखे नाच हेर्नकै लागि भनेर पनि नेपाल आउने गरेका छन् । ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रूप भएको, कम्मरसम्म लट्किएको लामो लट्टासहितको हेर्दै डर लाग्ने ख्वापा मुखौटा लगाएर बाजाको तालमा नाचिने लाखे नाचले पर्यटकहरू अचम्म मान्दछन् ।
नेवारी संस्कृतिसँग जोडिएको यो संस्कृतिको बारेमा रूचिका साथ खोज गर्दछन् । लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरू मात्र होइन पर्यटकहरू पनि रमाइलो मान्छन् ।
लाखे नाचसँगै झ्यालिँचालाई पनि नचाइन्छ । कागज र प्लास्टिकको मुखौटो लगाएका झ्यालिँचा जोकरजस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिँचालाई लखेट्ने गर्छ । झ्यालिँचा चाहिँ दर्शकहरूको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।
नेवार जातिहरू संस्कृतिका धनी छन् । उनीहरू आफ्नो संस्कृतिमा रमाउँछन् । नेवारहरू उपत्यकाबाट विभिन्न जिल्लामा बसाइँ सर्दै जाँदा आपूmसँग भएका आफ्ना संस्कृति, रितिरिवाज, लवाइखवाइजस्ता आफ्ना पहिचान पनि सँगै लिएर गएका थिए । जुन कारणले नेवारी संस्कृतिमा हुने जात्रा, नाचगान, सांस्कृतिक रितिरिवाज उपत्यकाबाहेक अन्य स्थानमा पनि देख्न पाइन्छ । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।
तर आजभोलि लाखे नाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो सांस्कृतिक नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ ।
नेवाः समुदायमा चाडपर्व गथामुगःबाट सुरू भई सिथी नखः पछि अन्त हुन्छ । गथामुगः पछि गुन्हुपुन्हि अर्थात् गाईजात्राको ९ दिन मोहनी दशैँ स्वन्ती वा न्हुदँ तिहार, माघे संक्रान्ती, श्रीपञ्चमी, सिलाचह्रे शिवरात्री, चैत्रदशैँ, पाँहाचह्रे नेपालीमा घोडेजात्रा, भोटोजात्रा, बुद्ध जयन्ती, आदि मुख्य पर्वहरू मनाउने गर्दछन् ।
जात्राहरू आफ्नो स्थानीय प्रचलन अनुसार अलग–अलग मनाउने गर्दछन् । काठमाडौँमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, सुनागुठीमा बालकुमारी जात्रा,हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा आदि जात्राहरू मनाउने गर्दछन् ।
नेवार जातिको मूलथलो काठमाडौँ उपत्यका हो । उपत्यकामा रहेका नेवार जातिहरू मध्यकाल अर्थात वि।सं। ९३७ देखि १८२६ सम्म व्यापार गर्नको लागि उपत्यकाबाट बाहिर बसाइँसराई सुरू गरेका हुन् । नेवार जाति नेपालको आदिम जातिहरू मध्येमा पर्दछन् । जुन कारणले नेवार जातिसँग नेपालको नामका साथै इतिहास र संस्कृतिसमेत गाँसिएको छ । नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवार जाति अर्थात् समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ ।
नेवारी भाषाको औपचारिक नाम नेपाल भाषा हो । नेपाल भाषा शब्दको नामाकरण देशको नामबाटै भएको छ । जसको प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरूमा पाइन्छ । नेपाल भाषाको आफ्नै लिपिहरू रञ्जना लिपि र भुजिँमोल लिपि छन । तर पनि नेवाल भाषाको प्रचलित लिपि भने नेपाल लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरी लिपिको पनि प्रयोग हुने गर्दछ । नेवार जातिहरूको बारेमा धेरै अनुसन्धान भएका छन् ।
अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे अनुसन्धान भएका छन । तर अझै पनि यकिन कुराहरू स्पष्ट रूपमा थाहा हुन सकेको छैन । अरू जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । पछिल्लो तथ्यांकअनुसार नेवारहरूको जनसंख्या १३ लाख २१ हजार ९३३ रहेको छ । नेवार जातिको कूलसंख्याको करिब आधा जनसंख्या उपत्यकामा बसोबास गर्दछन् ।
नेवार जातिहरू धर्मका हिसावले पनि शैव र बौद्ध धर्म मान्नेहरू छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरू थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाईहरू सबैलाई देश छाडेर जानु भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरू भारत पसे, धेरैजसो बेतिया सहरमा गएर बसे । त्यसरी त्यति बेलादेखि इसाई धर्म मान्ने नेवारहरू नै हराएर गए । अहिले फेरि इसाई धर्म मान्ने नयाँ नेवारहरू उत्पन्न भएका छन् ।
नेवार मुसलमानहरू भने ज्यादै थोरै भएको हुनाले उनीहरू खस अथवा पहाडी मुसलमानहरू र तराईका मुसलमानहरूसँग मिसिन गएका छन् । यसरी नेवारहरूको रगत, धर्म पनि अलग–अलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरूको एउटै किसिमको देखिदैन । कुनै नेवारहरूको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरूको चुच्चो नाक देखिन्छ ।