अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका प्रधानमन्त्री ओलीको भनाइ

राजनीति NFM संवाददाता बिहिबार भदौ ६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो समयमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सांसद डा। नारायण खड्काको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताउनुभयो ।
घरजग्गा कारोबार वृद्धि हुँदै गएको र पुँजी बजारमा उल्लेखनीय सुधार आएको प्रधानमन्त्री ओलीको भनाइ छ । निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको ओलीले बताउनुभयो । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक सङ्केत देखिएको उहाँले जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकाङ्क्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकूल परिमार्जन गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँको जवाफ दिने क्रम जारी छ ।

Leave a Comment