जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सांसद बस्नेतको माग

राजनीति NFM संवाददाता बिहिबार भदौ ६, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरू तत्काल स्थानान्तरण गर्न माग गर्नुभएको छ । भूकम्पमा घर गुमाएकाहरूलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको भन्दै बस्नेतले बस्ती स्थानान्तरणको माग गर्नुभएको हो । उहाँका अनुसार ८२ स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको छ । मनसुनसम्म आइपुग्दा त्यो सङ्ख्या अझै बढेको अनुमान छ ।
सरकारले राहतका निम्ति अस्थायी आवास बनाउनका लागि केही रकम उपलब्ध गराए पनि तिनै अस्थायी आवासहरु पहिरोका कारणले फेरि क्षतिग्रस्त भएका छन् । अहिलेको कार्यविधिले त्यस्ता पीडितहरूलाई दोहोरो सुविधा नदिने भने पनि पहिरोको कारणले क्षतिग्रस्त भएका अस्थायी आवास व्यवस्थापनका लागि थप राहत उपलब्ध गराउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा सरकारी संरचना, विद्यालय र निजी आवास निर्माण गर्न आवश्यक रहेको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि सम्बन्धित मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाई लाई डेडिकेटेड रुपमा जाजरकोटमा स्थापना गर्न पनि माग गर्नुभयो ।

Leave a Comment