काठमाडौँ । अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको छ । हिजो राती देखि परि रहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको हो । अहिले देशका अधिकांश ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा दिनभर हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिसम्म देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । काठमाडौँ उपत्यकामा पनि हिजो रातिदेखि परेको पानीले जनजीवन कष्टकर बनेको छ ।
लगातारको वर्षाले कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सतह खतरा तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साना तथा ठुला नदीमा पानीको बहाव बढेको हो । काठमाडौँ उपत्यकामा लगातार वर्षा भइरहेकाले बागमती, विष्णुमती, धोविखोला, गोदावरी र हनुमन्तेमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरका साना तथा ठुला नदीमा पानीको बहाव बढेको छ ।
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन् । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय क्षेत्रका केही उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हो । निरन्तरको वर्षाले केही उडान प्रभावित भएका विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । आज बिहान अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको थियो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ ।
लगातारको वर्षा र पहिरोले राजमार्ग अवरुद्ध
लगातारको वर्षा र पहिरोका कारण केही राजमार्ग पनि अवरुद्ध भएका छन् । पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । धादिङ जिल्लाको नाग ढुङ्गाबाट झन्डै दुई सय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अविरल वर्षाले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । यस्तै बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध छ । कैलारी गाउँपालिका–५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।