सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

मुख्य खबर NFM संवाददाता शनिबार भदौ १, २०८१

काठमाडौँ । सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि भएको छ । थामे गाउँ माथि रहेका दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले पुष्टि गरेको हो ।
हिजो दिउँसो दुई बजेतिर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो । रक्षा मन्त्री मानवीर राईसहितको स्थलगत अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिएको छ ।  बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न आज रक्षा मन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेको थियो ।
यसैबिच बाढीपीडितलाई खुम्बु–पासाङल्हामु गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो । हिजो स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पु¥याएको छ । बाढीबाट निजी भवन, होटेल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति भएको छ । सिङ्गो गाउँ नै बगरमा परिणत भएकाले भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ ।
बाढीबाट एक सय जना विस्थापित भएका छन् । नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि पीडितको सहयोगमा जुटेका छन् । बाढीले पक्की पुलमा पनि क्षति भएको छ । बाढीका कारण पुल भत्किएको र बाटो अवरुद्ध हुँदा हिँडेर जान सकिने अवस्था छैन । आज बिहान बाढी भने रोकिएको छ ।

Leave a Comment