काठमाडौँ । नेपालमा मनसुन भित्रीय यता दुई महिनामा विपद्का घटनामा परी २ सय ११ जनाको ज्यान गएको छ । ४८ जना बेपत्ता र १ सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट १ सय ७० जना र अन्य विपद् बाट ४१ जनाको ज्यान गएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशमा भएको छ । बागमती र गण्डकी प्रदेशमा समान ५८ जनाको मृत्यु भएको छ । यस्तै, कोशीमा २६, मधेशमा सात, लुम्बिनीमा ३९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो अवधिमा एक हजार तीन सय ३३ घटना भएकामा तीन हजार ६ सय ४७ परिवार प्रभावित भएका छन् । चार सय पाँचवटा घटना भएको कोशीमा सबैभन्दा बढी १ हजार दुई सय १२ परिवार प्रभावित भएका जनाइएको छ ।
यस्तै, मधेसमा ५ सय १३, बागमतीमा ४ सय ७१, गण्डकीमा ४ सय ३७, लुम्बिनीमा ३ सय २६, कर्णालीमा २ सय ४० र सुदूरपश्चिममा ४ सय ४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता भएका छन् ।
प्रतिवेदन अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष बढी मानवीय क्षति भएको छ । अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको ज्यान गएको थियो । यस वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले वर्षा भइरहेको छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।