काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा स्थानिय सरकारसँग युवाको सवाल विषयक विषेश संवाद कार्यक्रम भएको छ । समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका सिविसको सहकार्यमा तथा बुढानिलकण्ठ नगरपालिकाको सहयोग र नेपाल एफएम् नेटवर्कको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाले युवालाई केन्द्रमा राखेर वार्षिक कार्यक्रम समेटेर क्यालेण्डर बनाउने बताउनुभयो । उहाँले नगरले युवामैत्री कार्यक्रम गरिरहेको भन्दै युवाको सोचको पनि आवश्यकता रहेको बताउनुभयो । मेयर अधिकारीले गएको आर्थिक वर्ष ५ हजार मानिसलाई कौसि खेति सम्बन्धि तालिम दिएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहहरुले युवाका क्षेत्रमा काम गर्न तयार रहेको र राष्ट्रिय युवा परिषद्ले युवालाई व्यवसायमा जोड्न समन्वय गरिरहेको बताउनुभयो । उहाँले देशभरका १६ वटा पालिकाले ऐन बनाएर आधिकारिक रुपमा युवा परिषद् बनाएको जानकारी गराउनुभयो ।
यस्तै नगरपालिकाका युवा नगर परिषद् उपाध्यक्ष रुपेश भट्टराईले सबै वडामा रहेका युवासँग छलफल गरी युवाका मुद्दा खोजी गरेर नगर कार्यपालिकामा प्रस्तुत गर्ने गरेको बताउनुभयो । उहाँँले नगरपालिकाले युवाका लागि छुट्याएको कार्यक्रम तथा बजेट युवालाई जोड्ने काम गरिरहेको उल्लेख गर्नूभयो । उपाध्यक्ष भट्टराईले युवालाई नेतृत्व विकास गर्न तथा उद्यमशिल बनाउन नगर युवा परिषद्ले सँधै भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा युवाहरुले आफ्ना समस्या तथा जिज्ञासा राखेका थिए । इलाम घर भई १४ वर्ष देखि बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्दै आएका युवा सुजन लिम्वुले आफुले थालेको उद्यम्मा नगरपालिकाले सहयोग नगरेको गुनासो गर्नुभयो ।
लिम्वुको जिज्ञासाको जवाफ दिँदै मेयर अधिकारीले प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो । उहाँले बैंक सँग समन्वय गरेर लोनको व्यवस्था गर्ने बताउनुभयो ।
युवाहरुले नगरपालिकाको युवा लक्षित कार्यक्रम कार्यान्वयनको विषयमा बोलेका थिए ।