आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।
महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ ।
सप्तरी जिल्लाको रूपनी बजार र आसपास भारी भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भएर बहने मौली खोला, खाडो खोलालगायत अन्य साना खोलामा बहाव बढ्ने विभागको भनाइ छ । नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । यस्तै
अविरल वर्षाले पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखिको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो। करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए। अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने उनले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात सम्पर्क टुटेको छ। पहिरोले सडक नै भासिएको छ। गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएको थियो ।