-प्रमोद श्रेष्ठ, खोटाङ ।
प्रायः आमाहरुले आफ्नै नाम बिर्सिएका हुन्छन्
किनकि,
आमाहरु कसैको आमा भएर बाँचेका हुन्छन्
कसैको श्रीमती भएर बाँचेका हुन्छन्
कसैको बुहारी भएर बाँचेका हुन्छन् ।
बोलाउनेहरुले पनि सधैँ,
फलानाको श्रीमती भनेर बोलाउँछन्
फलानाको आमा भनेर बोलाउँछन्
फलानाको बुहारी भनेर बोलाउँछन्
आमाको आफ्नै नामबाट कसैले कहिल्यै बोलाउदैनन् ।
त्यहि भएर प्रायः आमाहरुले आफ्नै नाम बिर्सिएका हुन्छन् ।
मेरी आमालाई पनि तपाईले नाम सोधिहेर्नुभयो भने
सायद,
उत्तर यही आउनेछ,
म फलानाकी आमा
म फलानाकी श्रीमती
म फलानाकी बुहारी
किनकि,
मन नभएर हो या मन भएपनि बाध्यतामा परेर
मेरी आमा कहिले आफु भएर बाँच्न पाईनन्
जिन्दगीभर आमा भएर बाँच्दा,
जिन्दगीभर श्रीमती भएर बाँच्दा
जिन्दगीभर बुहारी भएर बाँच्दा
लगभग मेरी आमाले आफ्नो नाम बिर्सिसकिन् ।
प्राय आमाहरु आफ्नो खुसीको बारेमा अनभिज्ञ हुन्छन्
आमा भएर बच्चाहरुलाई खुसी बनाउने चक्करमा
श्रीमती भएर श्रीमानलाई खुसी बनाउने चक्करमा
बुहारी भएर सासू÷ससुरालाई खुसी बनाउने चक्करमा
आमाहरुले आफ्नै खुसी बिर्सिसकेका हुन्छन् ।
मेरी आमालाई पनि तपाईले,
तपाईंको खुसी केहो भनेर सोध्नु भयो भने,
सायद जवाफ यही आउनेछ
श्रीमानको खुसी नै मेरो खुसी हो,
छोरा÷छोरीहरुको खुसीनै मेरो खुसी हो
परिवारको खुसीनै मेरो खुसी हो,
किनकि,
आफ्नाहरुलाई खुसी बनाउने चक्करमा मेरी आमाले
आफ्नै खुसी चाहिँ कहिल्यै मतलब गरिनन् ।
ठुलठुला चोटहरु धेरैपटक भोगकाले होला
मेरी आमालाई,
सानो चोटले असर गर्दैन
दुखको पहाडै बोकेर बाँचेकाले होला
मेरी आमालाई
आफुभन्दा ठुलो दाउराको भारी पनि सानो भएजस्तै लाग्छ ।
आमाहरु यस्तै हुन्छन्
सायद,
आमा बन्नु अगावै आमाहरुले,
आफ्ना खुसीहरु
अरुकै नाममा लिलामी गरेका हुन्छन् क्यारे
त्यही भएर,
आमाहरु महान् हुन्छन् ।
आमाहरु जिँउदो भगवान् हुन्छन् ।