काठमाडौँ । उपचाररत बिरामीको मृत्यु भए पछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई जना नर्स निलम्बनमा परेका छन् ।
नर्सहरू प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको अस्पतालले जनाएको हो । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण सोधेर सचेत गराइएको छ । अस्पतालमा उपचारका लागि आएका क्यान्सरका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमो दिएपछि मृत्यु भएको थियो । तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले जानकारी दिनुभयो । अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उहाँको उपचार भइरहेको थियो । गुरुङको गएको असार १३ गते मृत्यु भएको महतोले बताउनुभयो । बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई जना चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ ।
अस्पतालले उपनिर्देशक डा। उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा। गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले साउन ३ गते प्रतिवेदन बुझाएको महतोको भनाइ छ ।