काठमाडौँ, बागमती प्रदेश सभाका सदस्यहरू प्रदेशसभा बैठक बस्ने दिन रातारात गरेर हेटौँडा पुग्छन् सकिए लगत्तै उहाँहरू रातारात काठमाडौँ वा निर्वाचन क्षेत्र पुग्ने दौडधुपमा हुन्छन् । प्रदेश सांसदहरू प्रायः हेटौँडामा भेटिँदैनन् तर, सांसद नभेटिए पनि बैठक भने गणपूरक सङ्ख्या नपुगेर एक पटक पनि रोकिएको छैन । प्रदेश सभा सचिव कृष्ण हरि खड्काका अनुसार बैठक लामो समय भने चल्ने गरेको छैन । गणपूरक सङ्ख्याले बैठकलाई अप्ठ्यारो नपारे पनि ई हाजिरीका विषयमा छलफल भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा पनि सांसदहरूको उपस्थिति राम्रै रहन्छ । सबै जना समय मै सहभागी हुन्छन् । अहिलेसम्म ८० प्रतिशतभन्दा कम सङ्ख्या उपस्थित भएको छैन । हालसम्म सांसदहरू सहभागी नभएकै कारण बैठक स्थगित गर्नु नपरेको सभामुख भीम भण्डारीले बताउनुभयो । नियमित ९ वटा बैठकसम्म सांसदहरूको सहभागिता भएन भने कानुनी कारबाही गरिने सबै जनालाई जानकारी गराइएको छ ।
लुम्बिनी प्रदेश सभामा प्रदेशसभा सदस्यहरू समय भन्दा अगाडि नै संसदहलमा आइपुग्छन् । त्यहाँ डिजिटल हाजिरीको व्यवस्था छ । बैठकमा सांसदहरूको सहभागिता बलियो नै रहन्छ । पटक पटक बैठकमा नजाने प्रदेशसभा सदस्यको सूची भने लामै छ । तर, प्रदेशसभा दाङको देउखुरी क्षेत्रमा राखिएपछि सांसद सभामुखबिच सल्लाह गरेर त्यहीँ अनुसार बैठक सञ्चालन हुने गरेको प्रदेश प्रवक्ता तथा उप सचिव ईश्वरी प्रसाद आचार्यले जानकारी दिनुभयो ।
मधेस प्रदेश सभामा जम्मा १ सय ७ जना सांसद छन् । त्यहाँ पनि डिजिटल हाजिरीको व्यवस्था छ । राजनीति दल र सांसदहरूको मत नमिल्दा यो डेढ वर्षको अवधिमा ३ तीन ओटा बैठक पूर्ण रूपमा स्थगित भएको र ८ वटा बैठक प्रभावित भएका सूचना अधिकारी चन्दन कुमार अधिकारीको भनाइ छ । तर, गणपूरक सङ्ख्या नपुगेरै बैठक स्थगित भएको छैन ।
कर्णाली प्रदेशसभामा सांसदहरूको सङ्ख्या ४० जना छ । गणपूरक सङ्ख्या नपुगेर कर्णाली प्रदेशसभा पनि स्थगित हुनु परेको अवस्था आएको छैन । तर यहाँ डिजिटल हाजिरीको व्यवस्था नहुँदा लिखित हाजिरी हुन्छ । बैठकमा उपस्थित हुँदा र सकिएपछि रजिस्टर मै हाजिरी गरेर निस्कने गरेको कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेलेको भनाइ छ ।
गण्डकी प्रदेश सभामा पनि डिजिटल हाजिरीको व्यवस्था भने छैन । राजनीतिक खिचातानीले ३ पटक बैठक रोकिए पनि गणपूरक सङ्ख्याको बहस अहिलेसम्म गर्नु परेको छैन । तर, अहिले सबै ठाउँमा डिजिटल सिस्टम भएको बेला आफूहरूले पनि यसको व्यवस्थाको लागि पहल गरी रहेको सांसद पद्मा जिसीले बताउनुभयो ।
संघीय संसद् र प्रदेशको तुलना गर्दा प्रदेश सभामा सांसदहरूको उपस्थित र छलफल राम्रो देखिन्छ । तर, तथ्याङ्क केलाउँदा धेरै पटक बैठक राखेर नागरिकका मुद्दामा छलफल चलाउने, क्यालेन्डर अनुसार प्रदेशसभा र समितिका बैठक गर्ने अभ्यासमा भने प्रदेशसभा पनि कमजोर नै देखिन्छन् ।