काठमाण्डौ उपत्यकामा हैजाको जोखिम देखिएको छ । हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएको छ । ती किशोरमा संक्रमण पुष्टि भएसँगै काठमाण्डौ उपत्यकामा हैजाको जोखिम देखिएको हो । हैजा संक्रमण पुष्टि भएका किशोरको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र बस्ने किशोरमा हैजा पुष्टि भएको हो । त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुर्नस्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ । हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । बासी खानेकुरा, नपकाएको खानेकुरा र पानीबाट पनि हैजा सर्ने जोखिम हुन्छ ।