काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा दुई दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । समितिको केन्द्रीय कार्यालय गौशालामा भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव जीवनमा गुरुको महत्वको बारेका चर्चा गर्नुभएको थियो । उहाँले भौतिक जीवन सफल बनाउन अनेक गुरुहरूको आवश्यकता परे जस्तै आध्यात्मिक जीवनकालागि पनि गुरुको आवश्यकता पर्ने बताउनुभयो । गुरुको सेवा गर्नु भनेको भगवानलाई पाउन सरह भएको चर्चा गर्दै उहाँले सबैलाई अध्यात्ममा लाग्न प्रेरणा दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले अहिलेको युवा पुस्ता सकारात्मक कुरालाई छाड्दै नकारात्मकतातिर अघि बढिरहेकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘कलेज जान हिँडेका युवाहरू अहिले दुर्व्यसनीमा फसिरहेका छन् । उनीहरूलाई सही बाटोमा ल्याउने एउटै मात्र उपाय अध्यात्म हो ।’ त्यसैले सानै उमेर देखि नै अध्यात्म जागरण जगाउनु पर्ने र यसका लागि परिवारले नै बालबालिकाबाट आश्रममा ल्याउनुपर्ने उहाँको सुझाव छ ।
कार्यक्रममा मानव धर्म समितिकी वरिष्ठ प्रमुख महात्मा लता वाइजी, त्रिगुणा वाइजी र जगदम्बा वाइजीले गुरुको महत्वको बारेमा प्रकाश पर्नु भएको थियो । यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ९ का सदस्य टेकराज अधिकारीले अहिलेको अवस्थामा आध्यात्मिक जागरण अति नै आवश्यक रहेकाले कुनै न कुनै रूपमा अध्यात्ममा लाग्नै पर्नेमा उहाँको जोड दिनुभएको छ ।
गुरु पूजाकै अवसर पारेर समितिले यो वर्ष एसइई उत्तीर्ण गर्ने १७ जना विद्यार्थीलाई सम्मान गरेको थियो ।
दुई दिवसीय कार्यक्रममा भक्ति सङ्गीतका कलाकार तथा बाल सभाका साना साना नानी बाबुहरूले गुरुको महत्वको बारेका नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।