काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोमा परेर दुईवटा बस वेपत्ता भएका छन् । दुईवटा बसमा ४१ यात्रुको अवस्था थाहा हुन सकेको छैन । शुक्रबार बिहान करिब साढे तीन बजेको समयमा दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिबाट खसेको पहिरोले बगाउँदा दुवै बस त्रिशूली नदीमा खसेका हुन् । दुवै बस र यात्रुको खोजोको काम जारी रहेको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्समा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्स बसमा ४१ जना यात्रु रहेकोमा के कति हताहती भयो भन्ने यकिन हुन नसकेको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् ।
काठमाडौबाट गौरतर्फ जाँदै गरेको बसबाट तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।
सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३-००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीनजना कर्मचारी, स्थानीय यात्रु १४ वना र भाारतीय नागरिक सातजना रहेको छन् । प्रशाासन कार्यालयले ७ जना भारतीय नागरिकसिहत १७ जनाको नाम ठेगाना विवरण पनि सार्वजनिक गरेको छ ।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । पहिरोले बगाएका यात्रुको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालित गरिएको छ ।