बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका बहालवाला वडा अध्यक्षले एउटा कारखानामा गएर अनौठो हरकत देखाएका छन् । वडा नम्बर ११ का वडाध्यक्ष विन्दालाल साहले बुधवार साँझ सहयोगीसहित ब्राईटमेटल इन्डष्ट्रिज प्रा.ली.मा पुगेर काम गरिरहेका मजदुरलाई गाली गलौज गरेर जर्बजस्ती बाहिर निकालेका छन् । यो उद्योगले सिलिण्डर र सिलिण्डरमा लगाउने भल्ब बनाउँछ । उनले रक्सी खाएर मजदुरहरुसँग गालीगलौज गरेको भिडियो पनि प्राप्त भएको छ ।
रक्सी पिएर सहयोगी रुपनारायण चौधरीसहित पुगेका साहले आफु त्यो गाउँको मुखिया भएको भन्दै उद्योग बन्दगर्न उर्दी जारी गरेका थिए । उनले ‘आजदेखि यो उद्योग बन्द’ भन्दै अपशब्द समेत बोलेका थिए । सबै मजदुरहरुलाई बाहिर निकालेपछि आफैसँग बोकेर ल्याएको तालाचावी लगाएर घरतर्फ गएको ब्राईटमेटल इन्डष्ट्रिज प्रा.ली.का प्रवन्धक बहादुरसिंह थापाले जानकारी दिए ।
पछि घटनाका विषयमा ईलाका प्रहरी कार्यालयलाई जानकारी गराउँदा डिएसपीसहितको टोली आएको तर विना मुचुल्लका गेटको ताला खोलेको थापाले बताए । इन्डष्ट्रिजमा पुगेपछि प्रहरीले सोधीखोजी गर्दा वडाध्यक्ष साहले आफुसँग भएको चावी लैजान भनेका थिए । चावी लिन गएको प्रहरीले रक्सी पिएको भन्दै डिएसपीलाई रिपोटिङ गरेका थिए ।
डिएसपी चिरञ्जिबी दाहालले रक्सी पिएको बेला कुरा गर्ने भन्दै भोलि सोधपुछ गर्ने भनेर ताला विना मुचुल्का ताला खोलेका थिए । मूल गेटमा रहेका सुरक्षा गार्डले केरकार गरेपछि ‘म यस वडाको मुखिया हुँ चिन्दैन’ भनी धम्कयाउँदै उद्योगभित्र प्रवेश गरेको कार्यरत एक कर्मचारीले बताए ।
निरन्तर काम चलिरहेको उद्योग भित्र अराजक शैलीमा प्रवेश गरी आफ्ना कर्मचारी तथा मजदूरमाथि दुर्व्यवहारका साथै धम्की समेत दिएको बताउँदै वडाध्यक्षको सो कार्यप्रति आपत्ति जनाउँदै कडा कारवाही गर्न ब्राईट मेटल इण्डष्ट्रिजले माग गरेको छ । डिएसपी दाहालले उद्योगका तर्फबाट उजुरी नआएकाले कारवाही प्रक्रिया अगाडी बढाउन नसकेको दावी गरे ।
‘रक्सी खाएर उद्योगमा पगेर कर्मचारीलाई गालीगलौज गर्ने, उद्योगमा ताला लगाउने गर्दा पनि उजुरी नै आउनुपर्छ र ?’ भन्ने प्रश्नमा डिएसपी दाहालले प्रष्ट जवाफ दिएनन् । यसअघि पनि वडाअध्यक्ष साह विवादमा तानिएका थिए । उनले माटो अवैधानिक रुपमा माटो बेचेको भन्दै उपमहानगरपालिकाले छलफलको विषय बनाएको थियो । वडाअध्यक्ष साहसँग सम्पर्क गर्न खोज्दा उनको फोन स्वीचअफ भएकाले कुरा गर्न सकिएन ।
एकदुई जना जनप्रतिनीधिका यस्ता अराजक शैलीले सबै जनप्रतिनीधिको बदनाम भइरहेको उपमेयर भोला अधिकारीले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष साह एउटा विवाहको पार्टीमा खानपिन गएर सिधै उद्योगमा पुगेका थिए । उपमहानगरपालिकाले त्यसमा विषयमा गम्भिर चासो राखेर छलफल गर्ने उपमेयर अधिकारीले बताए ।
जनप्रतिनिधि हुँ भन्नेबाटै उद्योगमा आएर मेसिन बन्द गराउने, कर्मचारीहरुलाई आतंकित बनाउने, धम्क्याउने कुरा आपत्तिजनक भएको बताउँदै उद्योगका अध्यक्ष शिवप्रसाद घिमिरेले प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी निर्वाह नगरेकोमा दुःख व्यक्त गरे । उनले तत्काल कारवाहकिो दायरामा ल्याउन माग गरेका छन् ।