कोलोम्बो । मर्यादित महिनावारी सम्बन्धि अन्तर्राष्टिय तालिम श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ । कोलोम्बो प्लानको सहकार्यमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी संजाल (Global South Coalition For Dignified Menstruation)ले पाँच दिनको प्रशिक्षक प्रशिक्षण तालिम सोमबमार श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको हो । महिनावारी विभेदलाई अन्त्यगरि महिनावारी मर्यादित बनाउने विषयमा केन्द्रित तालिमको नेतृत्व नेपालले गरेको छ ।
संजालका प्रमुख तथा अभियन्ता डाक्टर राधा पौडेलको नेतृत्वमा सुरु भएको तालिममा १४ देशका २६ जनाको सहभागिता रहेको छ । पौडेल मर्यादित महिनावारीमा विद्यावारिधी गर्ने विश्वको पहिलो व्यक्ति पनि हुनुहुन्छ । तालिममा नेपाल, भारत, अमेरिका, दक्षिण कोरिया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्याण्डस लगायतका देशको सहभागिता रहेको छ ।
पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको कोलोम्बो प्लानहले पहिलो पटक मर्यादित महिनावारीको सहकार्य गरेको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेको छन् । संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।
तालिममा नेपालसहित विश्वभरी रहेको महिनावारी विभेदलाई थप उत्खनन गरेर महिनावारीलाई मर्यादित बनाउने विषयमा छलफल गरिने संयोजन अभियानता पौडेलले बताउनुभयो । ‘मर्यादित महिनावारी सबै क्षेत्रमा सबैले काम गर्नुपर्ने विषय हो’ पौडेलले भन्नुभयो ‘यो तालिममा पनि सरकारी, सयुक्त राष्ट्रसंघीय कार्यक्रम, गैरसरकारी संघ सस्था, निजीक्षेत्र, सञ्चार माध्यम सबै क्षेत्रको सहभागिता रहेको छ ।’ तालिमका क्रममा अन्तर्राष्टि तालिम प्रशिक्षक प्रशिक्षण पुस्तिका समेत विमोचन हुनेछ । तालिम असार २१ (जुलाई ५ तारिक) सम्म चल्नेछ ।