मनसुनी प्रणाली देशभर नफैलँदा गर्मी कम भएन, तराईमा तातो लहरको चेतावनी

समाज शुक्रबार जेष्ठ ३२, २०८१

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् हिजो हो तर, यसवर्ष गएको २८ गते नै पूर्वमा प्रवेश गर्याे । अहिले मनसुन पुर्वी क्षेत्रमा सक्रिय रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधी देशभर नफैलँदा तराई मधेशमा गर्मी कम हुन सकेको छैन । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा /तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा देशभर गर्मी बढेको हो । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा केही दिनदेखि नै तापक्रम ४० डिग्री र त्योभन्दा माथि पुगेको छ । विभागले बिहिबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ ।

तातो हावा र तातो लहरबाट बच्न के गर्ने
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ ।

साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।

Leave a Comment