मनसुन नेपाल भित्रियो के गर्मी अब घट्ला ?

मुख्य खबर NFM संवाददाता मङ्लबार जेष्ठ २९, २०८१

काठमाडौं । यो वर्षको मनसुन पूर्वी भागबाट नेपाल प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर सक्रिय हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार बर्खायाम लगाउने मौसम प्रणाली ‘मनसुन’ नेपाल भित्रिसकेको छ तर पूर्वी क्षेत्रमा मात्र सक्रिय रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुन सोमबार कोसी प्रदेशको पूर्वी क्षेत्रमा प्रवेश गरेको हो। अहिले त्यसयता पश्चिमतर्फ मनसुनी प्रणालीको प्रभाव छैन।

मौसम महाशाखाका अनुसार हाल पूर्वी भेगमा मात्र मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

नेपालमा मनसुन जहिले पूर्वबाट भित्रिन्छ र बिस्तारै पश्चिमसम्म फैलिन्छ। अहिले मनसुन कोसी प्रदेशको पनि पूर्वी भागमा मात्र सीमित भएकाले त्यसयता मौसम बदली र वर्षाको सम्भावना कमै देखिएको छ। जसका कारण पश्चिम तराईमा अत्यधिक गर्मी भइरहेको मौसमविद् झा बताउँछन्।

त्यसो त काठमाडौँ उपत्यकामै पनि गर्मी भइरहेको छ। सोमबार यहाँको अधिकतम तापक्रम ३४।४ डिग्री सेल्सियस मापन भएको छ।  ‘मनसुनको प्रभाव परेकाले विराटनगरमा भने तापक्रम कम भइसकेको छ’, मौसमविद् झाले भने, ‘त्यहाँ सोमबार अधिकतम तापक्रम काठमाडौँको भन्दा कम ३३.६ डिग्री सेल्सियस मापन भएको छ।’

उनका अनुसार मनसुनी प्रणालीको प्रभाव नआउँदासम्म पश्चिमी तराईमा भने अझै केही दिन गर्मी नै रहने अनुमान छ।

मनसुनी वायु

प्रत्येक वर्ष नेपालमा बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा हुने गर्दछ । जुन हिन्द महासागरको दक्षिण गोलार्द्धबाट उत्पन्न भएर आउने हो । मौसमविदका अनुसार मनसुनी वायु दक्षिणी गोलार्द्धबाट अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ । त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ ।

आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको प्रणालीले त्यसमा पानीको मात्रा बढाउँछ । बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै देशभर फैलन्छ । यो मनसुनी चक्र हरेक वर्ष यसरी नै हुने गर्दछ ।

Leave a Comment