सामान्यतया २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भन्ने गरिन्छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने तथा गराउने कार्य गैरकानुनी मानिन्छ । तर समाजमा बालविवाह अझै भैरहेकै छ । बाल विवाह न्युनिकरण गर्न तिनै तहका सरकार लागिपरेका छन् । तर बालविवाहमा कमी आउन सकेको छैन ।
बाल विवाहको विषयमा कतिपय पालिका र प्रदेश सरकारकै योजना अलपत्र परेको छ । बागमती प्रदेशलाई विसं २०७८ भित्र बालविवाहमुक्त प्रदेश बनाउने प्रदेश सरकारको योजना थियो । तर उक्त योजना पुरा हुन सकेन र अलपत्र पर्याे । पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले ०७६ सालमा बागमती प्रदेशलाई ०७८ सालभित्र बालविवाहमुक्त प्रदेश बनाउने योजना बनाएको थियो । प्रदेश सरकारको योजना सफल हुन सकेन ।
पछिल्लो समय बालबालिकाहरुले आफुखुसी विवाह गर्ने प्रचलनले पनि सरकारको उद्धेश्य पुरा हुन नसकेको हो । ११९ वटा पालिका रहेको प्रदेशमा अहिलेसम्म जम्मा ९ वटा पालिका मात्रै बालमैत्री पालिका घोषणा भएको छ । अन्य पालिकाहरु बालमैत्री घोषणा गर्न पुरा गर्नुपर्ने सुचकमा आधारित रहेर काम गरिरहेका छन् ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तान भने २०७८ भित्र प्रदेशलाई बालविवाह मुक्त प्रदेश घोषणा गर्ने योजना असफल भएको मान्न तयार छैनन् । मन्त्री मोक्तान अहिले पनि विभिन्न कार्यक्रम भैरहेको बताउँछिन् ।
कम उमेरको विवाह, अहिले पछुतो
मकवानपुर हेटौँडाकी सुरक्षा क्षेत्रीको १६ वर्षको उमेरमा बिवाह भयो । बिवाह भएकोे दोस्रो वर्ष नै वच्चा पनि जन्मीयो । पढ्ने र भविष्य बनाउने पर्ने समयमा बच्चा हुर्काउदै वस्न पर्दा पढाई त बिचमै छुट्यो नै अरु काम गर्न समय निकाल्न मुस्कील भएको क्षेत्री सुनाउँछिन् । उनी अहिले २१ वर्षकी भइन् ।
आजभोली सुरक्षालाई आफुले छिटो विवाह गरेकोमा पछुतो लाग्छ । यो बेला माया बस्यो बिहे गरेँ, अहिले बच्चा पनि भैसक्यो । केहि गरौँ भने पनि बच्चा छ समय मिल्दैन, उनी दुखेसो गर्छिन् । उनका श्रीमान् ज्याला मजदुरीको काम गर्छन् । क्षेत्री त प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरै किशोरीहरुको कथा उस्तै छ । तीन वटा पालिका बालमैत्री घोषणा भएको मकवानपुरमा पनि बालविवाह न्युनिकरण हुन सकेको छैन । पालिकाहरुले बालमैत्री घोषणा गर्न हतार गरेको र बालमैत्री घोषणा पछि त्यो विषय प्राथमिकतामा पर्न नसकेको जानकारहरु बताउँछन् ।
बालविवाह मुक्त बनाउने प्रयासमा मरिण, जटिलता कायमै
प्रदेशलाई बालबिवाह मुक्त घोषणा गर्ने प्रदेश सरकारको योजना पुरा नभएपनि पालिकाहरुले विभिन्न प्रयास भने गरिरहेका छन् । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक उत्तिर्ण गरि विवाह गर्ने किशोरीलाई १ लाख रुपैँया दिने निति नै बनाएको छ । पालिकामा अहिलेसम्म ७ जना किशोरीले १÷१ लाख रुपैँया पाएका छन् । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा ५ जना र चालु अािर्थक वर्षमा २ जनाले पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताए ।
यसैगरि पालिकाले बालबिवाह न्युनिकरण गर्न कै लागि किशोरीहरुलाई साइकल वितरण गर्ने, वडाको सिफारिसमा मात्रै विवाह गर्न पाइने जस्ता निति बनाएर लागु गरेको छ । पालिका प्रमुख विमर्श मोक्तानले आफुहरुको कार्यकाल भित्रमा पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नेगरि काम गरिरहेको बताए । सोहि लक्ष्य प्राप्तिका लागि अहिले पालिकाले विभिन्न कामहरु गरिरहको पालिकाका अध्यक्ष मोक्तान बताउँछन् ।
पालिकाले बालविवाह न्युनिकरण गर्न निती नै बनाएर विभिन्न कार्यक्रम गरिरहेका छौँ, उनले भने । तर सोहि पालिकाकी १७ वर्षिय अन्जली श्रेष्ठको जिल्लाकै कमलामाई नगरपािलका ७ का सन्तोष श्रेष्ठसँग परिवारको सहमतीमै गएको वर्ष विवाह भयो । अहिले उनी १८ वर्षकी भइन् भने उनको साथमा ३ महिनाको बच्चा पनि छ । आफु नै बालिका छिन् उनको साथमा पारिवारिक जिम्मेवारी पनि थपियो । आजभोली उनलाई विवाह गरेर गल्ति पो गरेँ कि भन्ने लाग्छ । कक्षा ८ मा पढ्दै गरेकी अन्जलीको विवाह पछि पढाई रोकियो । अहिले उनकै उमेरका साथीहरु किताव बोकेर स्कुल जान्छन् भने उनी एउटी आमाको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । यसरी परिवारको सहमतीमा हुने गरेका बालविवाहमा स्थानिय सरकार, बालसञ्जाल तथा क्लवहरुको ध्यान जान सकेको छैन ।
बालविवाह छ, तर सरकारी अभिलेखमा छैन
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकामा पनि बालबिवाह भएको अभिलेख पाइँदैन तर, बालविवाह नै नभएको भने होइन । २०८१ सालको सुरुको महिनामा पालिकाका जनप्रतिनिधी मिलेर हुन लागेको एउटा बाल विवाह रोक्न सफल भयो । पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले बालविवाह न्युनिकरणका लागि विभिन्न जनचेतनाका कार्यक्रमहरु गरिरहेको बताए । पालिकाको अभिलेखमा बाल विवाहको घटना नभएको पालिका अध्यक्ष भुजेलको भनाई छ । तर बाल विवाह नै नभएको भने होइन । यो कुरा उनी स्वयम् स्वीकार्छन् ।
बाल विवाह भएको छैन भन्ने कुरा मान्न स्थानिय तहका जनप्रतिनिधी तयार छैनन् । समाजमा अझैपनि बालविवाह हुने गरेको कतिपयको स्वीकारोक्ति छ । नुवाकोटको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्त बहादुर घले सरकारी अभिलेखमा दर्ता प्रक्रियामा आउने क्रम नभएपनि बाल विवाह नै नभएको भन्न नमिल्ने बताउँछन् ।
विद्यालयमा अध्ययनरत १६ वर्ष, १७ वर्षको बालबालिकाहरु आफुखुसी विवाह गर्ने प्रचलन छ नै, उनले भने । यसमा परिवारको मन्जुरी रहँदैन, घले थप्छन् । पालिकाले बाल विवाह न्युनिकरणका लागि कानुनी विषयको जानकारी तथा सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको घलेको भनाई छ । पछिल्लो समय सामाजिक संजाल पनि मुख्य कारण बन्ने गरेको पालिका अध्यक्ष घलेको दावी छ । बालबालिकालाई घर, परिवार र विद्यालय तह बाट नै बालविवाहको विषयमा जानकारी गराउन आवश्यक रहेको उनी बताउँछन् ।
समाजमा जति बालविवाह हुन्छन् त्यो बालविवाहको घटना प्रहरी सम्म पुग्ने गरेको छैन । प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म तीन वटा बालविवाहका घटना भएका छन् । यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा चार वटा र अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा पनि चार वटा बालविवाह भएको प्रहरीको तथ्यांक छ ।
तर, बाल हेल्प लाइन मकवानपुरको तथ्यांकअनुसार बागमती प्रदेशका १३ जिल्लामा चालु आर्थिक वर्षको जेठसम्म तीन वटा बालविवाह भएका छन् । यो अवधिमा ४१ वटा बालविवाह रोक्न सफल भएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ वटा बालविवाह भयो भने ३९ वटा बालविवाहको प्रयास रोक्न सफल भएको तथ्यांक छ । यस्तो तथ्यांक बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा बालविवाह भयो भने ४२ वटा बालविवाह रोकिएको छ ।
तथ्यांक विश्लेषण गर्दा बालविवाहबाट पिडित हुनेमा बालिकाको संख्या धेरै रहेको पाइन्छ । बालविवाह रोक्ने कार्यमा स्थानिय तह, बाल संजालहरु लगाएतको भूमिका रहन्छ ।
जिल्लागत तहमा हेर्ने हो भने सबैभन्दा धेरै बालविवाहको समस्या धादिङमा देखिएको छ । जहाँ, ३६.४ प्रतिशत रहेको छ । यसैगरि मकवानपुरमा ३४.९, सिन्धुलीमा ३४.०, चितवनमा ३२.७, रामेछापमा ३०.६, काभ्रेमा २९.० प्रतिशत रहेको छ । यस्तै दोलखामा २८.९ प्रतिशत, सिन्धुपाल्चोकमा ३१.५, रसुवामा २८.३, नुवाकोटमा ३३.३, काठमाडौँमा २२.८, भक्तपुरमा २४.३ र ललितपुरमा २५.९ प्रतिशत बालविवाहको समस्या छ ।
पछिल्लो जनगणना २०७८ ले १५–२० वर्षसम्मको उमेर समूहमा विवाह गर्नेको जनसंख्या दुई लाख १३ हजार तीन सय २० रहेको देखाएको छ । यो भनेको पछिल्लो १० वर्षमा यो संख्यामा बालबिवाह भएको हो । केन्द्रिय तथ्यांक कार्यालयका अनुसार सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहको जनसंख्या १०.२ प्रतिशत रहेको छ । यस्तै १० देखि १४ वर्ष उमेर समूहमा १० प्रतिशत छ । १० देखि १४ वर्ष र १५ देखि १९ वर्ष उमेर समूहभित्र १०.५ प्रतिशत पुरुष र ९.९ प्रतिशत महिला छन् ।
समाजमा बालविवाहको समस्या विकराल
बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक तथा बागमती प्रदेश बालअधिकार समितीका सदस्य झविन्द्र ज्ञवाली समाजमा बालविवाहको समस्या विकराल रहेको बताउँछन् । पछिल्लो समय बालबालिकाहरुले सामाजिक संजालका कारण पनि सानै उमेरमा आफुखुसी विवाह गर्ने गरेको उनको भनाई छ । परिवार, अभिभावकले उनीहरुको रेखदेखमा ध्यान पुर्याउन जरुरी रहेकोमा ज्ञवालीको जोड छ ।
सानै उमेर देखि बालबालिकाहरु इन्टरनेटको पहँुचमा सजिलै पुग्ने हुँदा आफ्ना बालबालिकाले इन्टरनेटमा के कुरा हेरिरहेको छ, कस्ता मानिसहरुसँग कुराकानी हुन्छ, के विषयमा कुराकानी हुन्छ भन्ने विषयमा आमाबाबुले हेर्नुपर्छ, उनले भने ।
बालविवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएको प्रदेश सरकारले योजना अलपत्र भएपछि फेरी कुनै योजना नै नबनाउनु दुखद रहेको बागमती प्रदेश बालअधिकार समितीका सदस्य समेत रहेका ज्ञवाली बताउँछन् ।
कम उमेरमा विवाह गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्दछ । अपरिपक्व उमेरमा प्रजनन् कार्य हुँदा प्रजनन् लगाएत मानसीक स्वास्थ्यमा समेत गम्भिर असर गर्ने विशेषज्ञ डा. राजन न्यौपानेको भनाई छ । विवाह गर्ने उपयुक्त उमेर भन्दा कम उमेरमा विवाह भयो भने शारिरीक देखि मानसिक स्वास्थ्यमा विभिन्न समस्या आइपर्छ, उनले भने ।
बालविवाह पछि सानै उमेरमा गर्भवती हुने, बच्चाको जिम्मेवारी थपिने हुन्छ । यति मात्रै होइन महिलाको प्रजजन् स्वास्थ्यमा गम्भिर असर पर्छ । त्यसकारण अभिभावकहरुले नै आफ्ना बालबालिकालाई बालविवाहका बेफाइदाका विषयमा जानकारी दिनुपर्छ । अभिभावकहरु आफ्ना बालबालिकाको साथी जस्तै बन्नुपर्छ । यसो हुँदा उनीहरुले आफ्ना कुराहरु सजिलै भन्न सक्छन् । र समस्या आइपर्न बाट जोगाउन सकिन्छ, डाक्टर न्यौपानेको भनाई छ ।
कानुनी व्यवस्था
नेपालले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । विसं २०२० को मुलुकी ऐनले अभिभावकको अनुमतिमा विवाहको उमेर महिलाको १८ र पुरुषको २० वर्ष कायम गरिएको थियो । त्यसपछि केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ ले २० वर्ष नपुगी विवाह गर्न रोक लगाएको हो । यसैगरी मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाह भनेको छ । यदि २० वर्ष भन्दा कम उमेरमा गरिएको विवाह स्वतः खारेज हुने व्यवस्था गरेको छ । तर पछिल्लो समय बढ्दो आफूखुशी बालविवाह गर्ने अभ्यास थप जटिल बन्दै गइरहेको छ ।
बालविवाह जस्तो गम्भिर मानवअधिकार उलंघनलाई निरुत्साहित गर्न विद्यमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ । साथै अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना गर्नु र सामाजिक जागरुकता अहिलेको आवश्यकता हो । बालविवाह न्युनिकरण गर्न घर, परिवार, विद्यालयको पनि उत्तिकै भूमिका हुन्छ । बालबालिकालाई इन्टरनेटको प्रयोग, के ठिक के बेठिक भन्ने विषयमा पर्याप्त जानकारी दिनु जरुरी छ ।