पछिल्लो समय गृहिणी महिलाहरु उद्यमशिलता तर्फ आकर्षित बन्न थालेका छन् । आफैँ केहि व्यवसाय गरौँ, भन्ने मान्यताका साथ अघि बढ्न थालेका छन् । देशमा संघियताको कार्यान्वयन सँगै तीन तहको सरकारको स्थापना भयो । दोस्रो कार्यकालमा रहेको स्थानिय सरकार, घर दैलौको सरकार हो । संघ र प्रदेशले बनाएको निति कार्यक्रमलाई स्तानिय सरकारले सहजीकरण र कार्यान्वयनमा सघाउँदै आएको छ ।
बागमती प्रदेशले चालु आर्थिक वर्षमा १३ जिल्लाका ३५ वटा स्थानिय तहसँग गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले १३ जिल्लाका ३५ वटा पालिकासँग सहकार्य गरेर काम गरिरहको मन्त्रालयका प्रवक्ता खुविराम अधिकारीले बताए ।
प्रदेशका ३५ पालिकामा कोन्जोसोम गाउँपालिका ललितपुर, बकैया गाउँपालिका मकवानपुर, मध्यपुर थिमी नगरपालिका भक्तपुर, पाँचखाल नगरपालिका काभ्रे, घ्याङलेख गाउँपालिका सिन्धुली, दुधौली नगरपालिका सिन्धुली, हरिहरपुरगढि गाउँपालिका सिन्धुली छन् । यसैगरि बेनिघाट रोराङ गाउँपािलका धादिङ, मन्थली नगरपालिका रामेछाप, पञ्चकन्या गाउँपालिका नुवाकोट, रुविभ्याली गाउँपालिका धादिङ, ज्वालामुखी गाउँपालिका धादिङ, खनियाबास गाउँपालिका धादिङ, मनहरी गाउँपालिका मकवानपुर, मण्डनदेउपुर गाउँपालिका काभ्रे, थाक्रे गाउँपालिका धादिङ, बनेपा नगरपालिका काभ्रे, दुप्चेश्वर गाउँपालिका नुवाकोट र बागमती प्रदेश सरकारबिच साझेदारी भएको थियो ।
यस्तै मरिण गाउँपालिका सिन्धुली, बलेफी गाउँपालिका सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक, चौरीदेउराली गाउँपालिका काभ्रे, नेत्रावती गाउँपालिका धादिङ, किस्पाङ गाउँपालिका नुवाकोट, बेलकोटगढी नगरपालिका नुवाकोट, शिवपुरी गाउँपालिका नुवाकोट, सुनकोशी गाउँपालिका सिन्धुली, पनौती नगरपालिका काभ्रे, महालक्ष्मि नगरपालिका ललितपुर, गोलन्जोर गाउँपालिका सिन्धुली, नागार्जुन नगरपालिका काठमाडौं, इच्छाकामना गाउँपालिका चितवन, महांकाल गाउँपालिका ललितपुर, खानीखोला गाउँपालिका काभ्रे र बेथानचोक गाउँपालिका काभ्रे र सामाजिक विकास मन्त्रालय बिच साझेदारी भएर काम भैरहेको छ ।
गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा स्थानिय पालिका आफैँले पनि आवश्यक अनुसारको बजेट विनियोजन गरेर कार्यक्रम अघि बढाएको छ ।
स्वरोजगारमा महिलाको लगाव
सिन्धुलीको फिक्कल गाउँपालिका ६ का लक्ष्मी माझी अहिले सिलाई कटाई व्यवसायमा लागेकी छिन् । कोरोनाको समयमा सिलाई कटाई सम्बन्धि तालिम लिएर केहि समय अरुकोमा काम गर्नुभयो । त्यसपछि उनलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । ३ वर्ष अगाडी १० हजार रुपैँयामा सिलाई मेसिन किनेर सुरु भएको व्यवसाय सन्तोषजनक नै छ । अहिले माझीलाई आफ्नो खर्चका लागि घरमा आमा बुबासँग हात थाप्न परेको छैन । यसैले उनलाई सन्तुष्ट बनाएको छ ।
अहिले तत्कालका लागि आम्दानी साह्ै राम्रो नभएपनि निराश हुन परेको छैन, उनी भन्छिन् । माझिलाई सिलाई–कटाईको अन्य मेसिनहरु थप्ने, काम गर्न मानिस राख्ने औधी रहर छ तर, उनीसँग अरु मेसिन थप्न र व्यवसाय बढाउन पर्याप्त पैसा छैन । यसका लागि स्थानिय पालिकाले सहयोग गरे हुन्थ्यो भन्ने लागिरहन्छ ।
हुन त फिक्कल गाउँपालिकाले महिलालाई आयआर्जनमा सबल बनाउन विभिन्न तालिम तथा कार्यक्रमहरु गर्दै आएको छ । बैशाखमा १२ जना महिलाहरुलाई दुना टपरी बनाउने सम्वन्धि तालिम संचालन गरि मेसिन हस्तान्तरण गरेको थियो । तालिममा सहभागि अमृता मगर निकै उत्साहित छिन् । उनलाई घरको काम सकेर समुहमा काम गर्न पाउँदा निकै रमाइलो लाग्ने गरेको सुनाउँछिन् । आफुहरुले उत्पादन गरेको दुना टपरीको बजारीकरणमा पालिकाले पनि सघाउने भएपछि मगरलाई खुसी लागेको छ । हामी जस्ता गृहिणीको लागि यो कार्यक्रमले निकै सघाएको छ, उनले भनिन् । यसबाट सामान्य घर खर्च गर्न सजिलो हुने उनको विश्वास छ । अमृता जस्ता महिलाहरु आफ्नै घरमा बसेर साँझ बिहान घरघरायसी काम गर्दै बचेको समयको सदुपयोगमा लागेका छन् । घरको चुलो चौकोमा सीमित महिलाहरु आर्थिक उपार्जनमा लाग्न पालिकाकोे मद्धतले होस्टेमा हैँसे भएको छ । एक्लै काम गर्नुभन्दा साथी समुहमा गरेको काम निकै आनन्दमय हुने अमृता सुनाउँछिन् ।
पालिकाले महिलालाई आत्मनिर्भर बनाउने मात्र होइन पालिकालाई प्लाष्टिक मुक्त बनाउने पनि उद्धेश्य राखेको छ । मध्यपहाडी राजमार्ग वरपरका स्थानिय होटलहरुमा प्रयोग हुने प्लाष्टिकलाई न्युनिकरण गर्न मद्धत पुग्ने पालिका अध्यक्ष पार्वती सुनुवारको विश्वास छ । हरेक पालिकालाई प्लाष्टिमुक्त बनाउन सके जलवायु परिवर्तनको असरलाई कम गर्न थोरै भएपनि सहयोग पुग्ने अध्यक्ष सुनुवारको दावी छ ।
पालिकाले बैशाख तेस्रो साता सीप तथा व्यवसायिकता सम्बन्धि ३९० घण्टे ढाका बुनाई तालिम पनि संचालन गर्याे । गरिवी निवारण तथा लघु उद्यम कार्यक्रम अन्तर्गत पालिकाले महिलाहरुलाई तालिम दिएको हो ।
सिप सिकौँ उद्यमशिल बनौँ भन्ने मुल नाराका साथ पालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको अध्यक्ष सुनुवार बताउँछिन् । दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका अध्यक्ष सुनुवार अघिल्लो कार्यकालमा उपाध्यक्षको भूमिका निर्वाह गरेकि थिइन् । पालिकाभित्रका महिलाहरुलाई आर्थिक उपार्जनमा जोड्नु मुख्य उद्धयश्य रहेको अध्यक्ष सुनुवारको भनाई छ ।
गृहिणी महिलाका लागि सिलाई कटाई सम्बन्धि तालिम
सिन्धुलीको मरिण गाउँपालिकामा गृहिणी महिलाहरुका लागि सिलाई कटाई सम्बन्धि तालिम जारी छ । जेठको दोस्रो साता सुरु भएको तालिममा गाउँपालिका वडा नम्बर ५ का २५ जना गृहणी महिला सहभागी भएका छन् । यो तालिम कार्यक्रम एक महिना सम्म संचालन हुने छ । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत तालिम दिइएको हो । महिलाहरुलाई सिप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन गार्मेट उद्योग संचालन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । गृहणी महिला सशक्तिकरण कार्यक्रमको लागि सामाजिक विकास मन्त्रालयले १३ लाख ८८ हजार ५१६ रुपैयाँ र मरिण गाउँपालिकाले २ लाख ४५ हजार ३२ रुपैयाँ लगानी गरेका छन् ।
महिलालाई उद्यमशील बनाउन नगरको साथ
चितवनको खैरहनी नगरपालिकाले पनि महिलालाई उद्यमशील बन्न प्रेरित गरेको छ । नगरपालिकाले यस चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा तालिम लिएकाहरुलाई पुनः एडभान्स तालिम दिएको छ । नगरपालिकाले महिलाहरुलाई ब्युटिसियन, अचार बनाउने तालिम, चप्पल बनाउने तालिम, होमस्टे सम्बन्धि समुह बनाएर तालिम दिएको छ । यस नगरपालिकाले तालिम मात्रै होइन बिउ पुँजीको लगानी समेत गरिदिएको छ । नगरपालिकाका उप–प्रमुख कविता उप्रेती महिलालाई आत्मनिर्भर बनाउनुपर्छ, भनेर लागि परेको बताउँछिन् ।
नगरपालिकाका उद्यम शाखाका वरिष्ठ उद्यम सहजकर्ता शान्ति कुमारी दाहालका अनुसार व्युटिसियन सम्बिन्ध तालिममा २९ जना, ढाका बुन्ने समुहका ११ जना, चप्पल बनाउने तालिममा ११ जना, झोला बनाउने तालिममा १० जना महलिाहरु सहभागि भएका थिए । यस्तै नगरपािलकाले होमस्टे संचालन सम्बन्धि तालिम दिएको छ । जसमा एउटा बस्ति नै सहभागि भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत उद्यमशिलता विकास तालिम दिएको हो ।
नगरपालिकाले तालिम मात्रै होइन व्यवसाय संचालनका लागि आवश्यक सामग्री र विउ पूँजी नै सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संघबाट १२ लाख र नगरपालिकाले १५ लाख रुपैँया बजेट छुट्याएको उद्यम शाखा प्रमुख दाहालको भनाई छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा दिएको ढाका बुनाई सम्बन्धि तालिम लिएका १० जनाले अहिले उद्यम सञ्चालन गरिरहेका छन् ।
समुहमा काम गर्न पाउँदा खुसी
समुहमा काम गर्न पाउँदा महिलाहरु खुसी छन्। उनीहरु साँझ बिहान घरको काम गर्छन्, खेतिपातिको काम पनि भ्याउँछन् भने उद्यममा पनि समय छुट्याउँछन् । सुर्तामा ढाका उद्योगकी सदस्य रिता चौधरीको दैनिकी फेरिएको छ । आजभोली रिताको समय निक्कै व्यस्त बन्न थालेको छ । साँझ बिहान घरघरायसी कामका समय दिएर बिहान १० बजे नै उद्योगमा पुग्छिन् र ढाकाका कपडाहरु बुन्न तल्लिन हुन्छिन् । ढाका बुन्ने तालिम लिनु अघि पनि उनले विभिन्न तालिम नलिएकी भने होइन । तर नगरपालिकाले दिएको ढाका बुन्नाई सम्बन्धि आधारभुत तालिम लिइसकेपछि यसलाई उद्यमको रुपमा विकास गर्नुपर्छ भन्ने लाग्यो र समुहमा दिदिबहिनीसँग मिलेर काम सुरु भयो । अहिले रिता जस्तै अन्य महिलाहरुको पनि दैनिकी फेरिएको छ ।
समयको सदुपयोग पनि भएको छ र आर्थिक उपार्जन पनि । समुहमा काम गर्न पाउँदा महिलाहरु खुसी छन् । रितालाई लाग्छ थोरै किन नहोस् पैसा कमाउनुपर्छ । आर्थिक रुपमा सवल भयो भने समाजले हेर्ने दृष्टिकोणमा पनि भिन्नता आएको उनलाई महसुस हुन्छ । उनले गरेको कामबाट घर परिवार पनि खुसी छन् । दैनिक घर खर्च कटाएर केहि रकम बचत गर्ने गरेको रिता सुनाउँछिन् । उनीहरुले उत्पादन गरेको सामग्री स्थानिय बजारमा विक्रि हुन्छ । सुरुमा नगरपालिकाले तालिमका साथै मेसिन पनि उपलव्ध गराएको थियो । त्यसबाट नै महिलाहरु उद्यमशिल बन्न प्रेरित भए । अहिले उनीहरुलाई मेसिनको आवश्यकता छ, यसका लागि आफुहरुले पहल गरिरहेको रिता सुनाउँछिन् ।
खैरहनी कै, जेनिसा नेपाल ब्युटिसियन सम्बन्धि तालिम लिएर व्यवसायी बन्नुभएको छ । नेपाल जस्तै ६ जना महिलाको एउटा समुहले तीन महिना देखि व्यवसाय सञ्चालन गरिरहेको छ । समृद्धी लघु उद्यमी ब्युटि पार्लर समुह बनाएर जेनिसा जस्तै महिलाहरु मिलेर उद्यम गरिरहका छन् । पालिकाले अघिल्लो वर्ष आधारभुत तालिम दिएको थियो भने यस वर्ष एडभान्स तालिम दिएर महिलाहरुलाई उद्यमी बन्न सहयोग गरेको हो । जेनिसालाई ब्युटि पार्लर व्यवसायमा लागिसकेपछि आफ्नो व्यक्तित्व विकास हुनुका साथै आयआर्जन पनि हुँदा निकै खुसी लाग्छ । यस व्यवसायले आफुलाई चिन्न सहयोग पुगेको उनको अनुभव छ । समुहमा महिलाहरु बिहान र दिउँसो दुई चरणमा काम गर्छन् । तीन जनाको समुहले बिहान र अर्काे तीन जना दिउँसोको समयमा उद्यमलालई समय दिइरहेका छन् । गृहिणीलाई उद्यमशील बनाउनुपर्छ भनेर नगरपालिकाले गरेको कार्यले आफ् जस्ता धेरै महिलालाई सहयोग पुगेको जेनिसा बताउँछिन् ।
बागमती प्रदेशको चालु आर्थिका वर्षको निति तथा कार्यक्रममा पहिचान भएका गरिव तथा विपन्न घर परिवार लक्षित गरि व्यवसायिक सिप विकास तालिम कार्यक्रम र वित्तिय पहुँचमा सहजीकरण मार्फत् स्वरोजगार र रोजगारीको अवसर सृजना गर्ने निति अनुसार पालिकाहरुले काम गरिरहका छन् । यसबाट साँच्चै उद्यमशिल बन्न चाहने जेनिसा, रिता जस्ता गृहिणीलाई सहयोग पुगेको छ ।
९ सय महिलालाई सिपमुलक तालिम
महिलाले नेतृत्व गरेको मकवानपुरको हेटौंँडा उपमहानगरपालिकाले आत्मनिर्भरतालाई जोड दिएको छ । बागमती प्रदेशको राजधानी समत रहेको यस उपमहानरपालिकाले महिला विकासका लागि अनिवार्य शिक्षा, स्वास्थ्य सेवा र आर्थिक आत्मनिर्भरतालाई महत्व दिएर विभिन्न कार्यक्रम अघि बढाएको छ । हुन त उपमहानगरपालिकाको नेतृत्वमा महिला नै भएकाले पनि आर्थिक समृद्धिमा महिला प्राथमिकतामा परेको पनि विश्लेषण हुने गरेको छ ।
२०७९ मा भएको स्थानिय निर्वाचन पश्चात अहिलेसम्म करिव ९ सय महिलालाई सिपमुलक तालिम दिएको छ । ३ सय ५० महिलाहरु प्रत्यक्ष रोजगारीमा जोडिएका उपमहानगरपालिकाका प्रमुख मिना लामा बताउँछिन् । उपमहानगरपालिकाले सपि सिकाएपछि १३ वटा लघुउद्योगमा जोडिएर दिगो आयआर्जन र आत्मनिर्भर भएको देख्दा आफुलाई निकै खुसी लाग्ने प्रमुख लामा बताउँछिन् । उपमहानगरले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखेको छ । साथै उद्यमशिलतालाई प्रोत्साहन गर्न तथा महिला उद्यमीहरुको क्षमता विकास गर्न वार्षिक रुपमा कार्ययोजना बनाएर काम गरिरहेको छ । प्रमुख लामा उपमहानगरभित्रका महिलालाई आर्थिक समृद्धीमा जोड्न कुनै कसर बाँकी नराखिने दावी गर्छिन् ।
कार्यक्रम निरन्तर चल्नेछ
प्रदेश सरकारको पञ्चवर्षिय योजना भएकाले यो कार्यक्रम निरन्तर चल्ने सामाजिक विकास मन्त्री कुमारी मोक्तानको भनाई छ । मन्त्री मोक्तान गृहिणी महिलाको आर्थिक समृद्धीका लागि विभिन्न काम गरिरहेको बताउँछिन् । प्रदेश सरकारले महिलाको आर्थिक समृद्धीमा सदैव सहयोग गरिरहने बताउँछिन् । महिलाको आर्थिक समृद्धी अहिलेको आवश्यकता रहेको मन्त्री मोक्तानको भनाई छ ।
देशमा रहेको विद्यमान बेरोजगारीको समस्या समाधानका लागि साना तथा लघु उद्यमको विकास हुन थालेको छ । यसले स्वदेशमै केही गरौँ भन्ने सोच बनाएका हरुलाई थोरै भएपनि सहयोग मिलेको छ । खासगरि गृहिणी महिला लक्षित कार्यक्रमहरुले केहि आशा जगाएको पक्कै छ । यसले महिलाहरुलाई आर्थिक समृद्धि तर्फ अघि बढाउन सहयोग गरेको छ ।
गृहिणी महिलाको आर्थिक समृद्धीको सारथी स्थानिय र प्रदेश सरकार बनेपछि धेरै महिलाहरु आयआर्जनमा लागेका छन् । स्थानिय सरकारहरुले महिला उद्यमशिलताको साथै उनीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणमा ध्यान दिन सके अझ उपलब्धिमुलक बन्ने छ ।