आगलागीबाट फागुन देखि अहिलेसम्म ४६ जनाको मृत्यु

समाज बुधबार बैशाख १९, २०८१

केही दिनयता देशका विभिन्न ठाउँमा आगलागिका घटना बढ्न थालेका छन् । आगलागीको प्रत्यक्ष मारमा गरिव र विपन्नहरू परेका छन् । तराई मधेस आगलागीले सबैभन्दा बढी आक्रान्त बनेको छ ।

आगलागी केही दिन अघिमात्र महोत्तरीको माटिहानी नगरपालिका ६ को एउटा वस्ति नै सखाप भएको थियो । हिजो सप्तरीमा अर्को बस्ति जेलेर खरानी भएको छ । साढे २ महिनाको अवधिमा वैशाख १७ गतेसम्म मात्रै ४६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ हिजो वैशाख १७ गतेसम्म अवधिमा आगलागी र डढेलोका १ हजार ९९४ घटना भएका छन् । यी घटनामा परी ४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक हप्तामा मात्रै देशभर १८८ ठाउँमा आगलागी र १५४ ठाउँमा डढेलो लागेको छ । वैशाखयता मात्रै आगलागीबाट ८ जना र डढेलोबाट २ जना गरी १० जनाको मृत्यु भएको छ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै ८७ करोड बराबरको धनमाल क्षति भएको छ । प्राधिकरणले पछिल्ला केही घटना अझै अद्यावधिक गर्न बाँकी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

वैशाख लागे यता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ । पाँच वर्षमा आठ हजार तीन सय ३२ घरमा आगलागी भएको छ ।

राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७६ देखि ०८० सम्म आगलागी (बस्ती पसेका डढेलोसहित)का १५ हजार तीन सय ४० घटना रेकर्ड हुँदा पाँच हजार तीन सय ४३ घर जलेर नष्ट भएका छन् ।

दुई हजार नौ सय ८९ घरमा क्षति पुगेको छ । पाँच वर्षमा आगलागीमा परी चार सय ७१ जनाको मृत्यु भएको छ भने एक हजार नौ सय ८० जना घाइते भएका छन् ।।

Leave a Comment